रूपन्देही, २२ जेठ । रूपन्देहीको रोहिणी गाँउपालिका–३ मा आइतबार बिहान बस दुर्घटना परी मृत्यु भएका ९ मध्ये ८ जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ता रहेका छन् ।

त्यस्तै, तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल रहेका छन् ।

एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।

दुर्घटनामा चालकसहित घाइते भएका सबैलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा ९ जनाको मृत्यु भएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।