५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिइने

काठमाडौं, २१ जेठ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक भिडियो सन्देश जारी गर्दै खोपको व्यवस्था भइसकेको जानकारी दिएका हुन् ।
मन्त्री खतिवडाका अनुसार ५–११ वर्षका करिब ३९ लाख बालबालिकालाई लागि फाइजर खोप दिन लागिएको छ । दुई चरणमा अभियान सञ्चालन गरी खोप दिन लागिएको छ । सुरुमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइँदैछ । यो समूहलाई साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा दिइने छ ।
बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्री खतिवडाले बताए ।
५–११ वर्षका बालबालिकालाई दिन लागिएको यो खोप कोभ्याक्स सुविधामार्फत निशुल्क आउन लागेको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार यो खोप खरिद प्रक्रियामा थियो । यसको मूल्य ६ अर्ब भन्दा बढी हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको निरन्तरको प्रयास र समन्वयका कारण खोप निशुल्क उक्त खोप प्राप्त भएको खतिवडाको भनाइ छ ।
उनले विद्यालयलाई खोप केन्द्र बनाइ बालबालिकालाई खोप वितरण गरिने जानकारी दिए । अध्ययन अनुसार खोप प्रभावकारी र सुरक्षित रहेकाले सम्पूर्ण आफ्ना बालबालिकालाई खोप अभियानमा सहभागी गराउन सम्पूर्ण अभिभावकहरुलाई मन्त्री खतिवडाले आग्रह गरेका छन् ।
मन्त्री खतिवडाका अनुसार हालसम्म विभिन्न माध्यमबाट ५ करोड ३३ लाख खोप भित्र्याइएको छ । यसमध्ये पहिलो दोस्रो र बुस्टर मात्रा गरी ४ करोड ३० लाख भन्दा धेरै मात्रा खोप लगाइसकिएको छ ।
हालसम्म १२ वर्षमाथिका कुल जनसंख्याको ८५ प्रतिशत भन्दा बढी नागरिकले पूर्ण मात्रा खोप लगाइसकेको र कम्तिमा १ मात्रा लगाउने ९६ प्रतिशत पुगेको मन्त्री खतिवडाको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


