काठमाडौं, २१ जेठ । नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा गए रातिको खेलमा नेपाल ओमानसँग २–० ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इशाम अल सुभीले एक/एक गोल गरे । मलिकीले पहिलो हाफको थप गरिएको समय तथा सुभीले ९० औं मिनेटमा गोल गरेका थिए ।

एएफसी एसियन कप छनोटको तयारीका लागि दोहामा रहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानको सामना गरेको हो । यसअघि नेपालले टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ तथा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ । छनोटको समूह ‘ए’ मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।