काठमाडौं, २० जेठ । नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा विजयी शुरुवात गरेको छ ।

नेपालले शुक्रबार कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

कतारले भने फराकिलो हारबाट प्रतियोगितामा सुरुवात गर्यो । आफ्नो पहिलो खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४/१४ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सृष्टि जैशीले तीन, अनु कडायत, कृतिका मरासनी र स्नेहा महराले दुई/दुई विकेट लिए ।

त्यसअघि मलेसियाको यूकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि अविजित रहेका आश्मा पुलामी मगरले ३२ र सृष्टि जैसीले २३ रन जोडे । त्यस्तै, सानु राजवंशीले २१ र अञ्जली विश्वकर्माले ११ रनको योगदान दिए ।

कतारका लागि साची ढड्वाल र अलिना खानले एक/एक विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् ।

शीर्ष टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ महिला विश्वकपमा स्थान बनाउनेछ । अब नेपालले दोस्रो खेल यूएईविरुद्ध शनिबार खेल्नेछ ।