जनकपुरधाम, २० जेठ । जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनबाट नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ जना सदस्य निर्वाचित भएका छन् ।

नगर सभा सदस्यले चयन गर्ने निर्वाचन प्रक्रियाबाट कांग्रेस र एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।

उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट महिला सदस्यहरुमा फूल कुमारी देवी, मनीषा कुमारी देवी, शारदा पन्त, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह तथा संतोष कुमार महतो निर्वाचित भएका छन् ।

निर्वाचित भएका राकेशले ८६, संतोषले ७८ र दिपेन्द्रले ६८ मत प्राप्त गरे । सोही पदमा नेकपा एमालेका उम्मेदवार जयशंकर गुप्ताले २९ र नेपाली कांग्रेसका पंकज कुमार महतोले ४९ तथा रामप्रवेश ठाकुरले ३५ मत प्राप्त गरेका छन् ।

नगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा एमाले र कांग्रेस एक्ला एक्लै उभिएका थिए ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका थिए ।

उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।

जनकपुरधामको कार्यपालिकामा कांग्रेसको १८, अन्य दलको १७

८ जना कार्यपालिका सदस्य निर्वाचित भएसंगै जनकपुरधाम उपमहानगरपालिकाको ३५ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १८, एमालेका ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।

उपप्रमुख किशोरी साहसहित ११ वटा वडाबाट निर्वाचित वडाध्यक्ष र नव निर्वाचित ६ जना कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् । यता नेकपा एमालेबाट ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसंगै उपमहानगरपालिकाको नगर सभामा कांग्रेसको संख्या ७० पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वतः नगर सभाको सदस्य हुनेछन् ।

निर्वाचनको प्रक्रिया पूरा भएसंगै उपमहानगरपालिकाको नगर सभा र कार्यपालिकामा कांग्रेसले स्पष्ट बहुमत हात पारेको छ ।