हेटौंडा, १९ जेठ । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजदेखि हेटौंडामा सुरु भएको छ ।

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता सुरु भएको हो ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नव जनजागृति र बागमतीसँगै विभागीय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताका लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए । अघिल्लो वर्षझैँ यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संयोजक पूर्णबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।

प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।