मनाङमा ५० प्रतिशत मात्रै पुस्तक

मनाङ, १९ जेठ । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।
विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो ।
हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।
‘जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक सत्र सुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ ।
पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,’ चपाईंले भने ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


