जनकपुरधाम, १८ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुने दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताएका हुन् ।

उनले नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानहरू नागरिकताबाट वञ्चित नहुने दाबी गरेका छन् ।

नागरिकताको हक नागरिकको अधिकार रहेकोले कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने मन्त्री शर्माले बताए ।

उनले भने, ‘संसदमा विधेयक गइसकेको छ, विधेयकमा केही कुरामा सहमति बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमति गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौ ।’

उनले जनकपुरधाम आएपछि नागरिकताको इस्यू उठ्ने गरेको र यो इस्यू नै यहाँको लागि हट इस्यू रहेको समेत टिप्पणी गरे ।

अर्को प्रसंगमा बोल्दै मन्त्री शर्माले शान्ति प्रक्रियाको काम समाधानका लागि सरकार तयार रहेपनि यो चुनौतीपुर्ण रहेकोले ढिलाई भइरहेको बताएका छन् ।

शसस्त्र द्वन्द्वका बेला भएको अपराधिक घटना सहितको शान्ति सम्झौतासँग जोडिएका दशकौं पुराना समस्या समाधानका लागि सबै लचक हुनुपर्ने आवश्यकता रहेको समेत बताए ।