एजेन्सी, १८ जेठ । बलिउडका चर्चित गायक केकेको निधनपछि साङ्गीतिक क्षेत्रमा शोकको अवस्था छ ।

केकेको अचानक मृत्युमा उनका प्रशंसक र सेलिब्रिटीलाई झट्का लागेको छ । कोलकातामा आफ्नो कन्सर्टपछि केकेको स्वास्थ्य बिग्रिएको थियो । उनलाई तुरुन्त अस्पताला लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए । उनी ५३ वर्षका थिए ।

केके उर्फ कृष्ण कुमार कुन्नथ बलिउड म्युजिक इन्डष्ट्रिका ठूला नाम थिए । उनले आफ्नो करियरमा थुप्रै गीत गाए र चर्चा बटुले । तर आफ्नो नीजि जीवनलाई उनले मिडियाको नजरबाट टाढै राखे । निकै कमलाई थाहा छ कि केकेले आफ्नी बाल्यकालकी प्रेमिकासँग विवाह गरेका थिए । उनकी श्रीमतीको नाम ज्योति हो । ज्योतिसँग उनका दुई सन्तान छन्, एक छोरा र एक छोरी ।

कसरी सुरु भयो केके र ज्योतिको लभ स्टोरी ?

केकेले कपिल शर्मासँगको कुराकानीमा ज्योतिसँग उनको पहिलो भेट ६ कक्षामा भएको बताएका थिए । त्यहाँदेखि नै उनीहरु सँगै थिए ।

उनी वास्तवमा ‘वन वुमन म्यान’ थिए । उनले भनेका थिए, ‘मैले एकजना केटीलाई मात्रै डेट गरेको थिएँ र उनी मेरी श्रीमती ज्योति हुन् । म निकै लजालु केटा थिएँ र उनीसँग पनि मैले राम्रोसँग डेट गर्न सकेको थिइनँ । कहिलेकाँही मेरा बच्चाहरुले मलाई यो कुरामा जिस्काउँछन् ।’

केकेको लभ स्टोरी : बाल्यकालकी साथीसँग गरे विवाह, ६ कक्षामा पहिलो भेट

केके र ज्योति बाल्यकालदेखि नै सँगै थिए । यी दुईले सन् १९९१ मा विवाह गरेका थिए । तर विवाह गर्नका लागि केकेले आफ्नो जागिर पनि खोज्नुपरेको थियो । त्यतिबेला खासै राम्रो जागिर नपाएपछि उनले सेल्सम्यानको काम गरेका थिए ।

त्यसपछि यी दुईको विवाह भयो । तर काम गरेको ६ महिनापछि नै उनलाई दिक्क लाग्न थालेको थियो । आफ्नी श्रीमती र पिताले समर्थन गरेपछि उनले यो जागिर छोडे र त्यो बाटोमा हिँडे जहाँ उनलाई भाग्यले डोहोर्याएको थियो । त्यसपछि उनी सङ्गीतकर्मको बाटोमा हिँडे ।

त्यसपछि केकेले आफ्ना लागि एउटा किबोर्ड किने र आफ्ना साथी शिबानी कश्यप र सेबल बसुसँग मिलेर जिंगल्स बनाउन थाले ।

तीनैजना मिलेर यो कामबाट पैसा पनि कमाए, तर केकेको यत्तिमा मात्रै चित्त बुझेको थिएन । जुन कुराको उनको जीवनमा कमी थियो त्यो दिल्लीमा थिएन । त्यसैले उनी मुम्बई गए । मुम्बईमा गएर उनले सङ्गीतमा पाइला टेके र बलिउड इन्डष्ट्रिका चर्चित गायकको रुपमा आफूलाई परिचित गराउन सफल भए ।