बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको सांसद यादवको आरोप

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेश प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दवाव दिए ।
सांसद यादवले मधेस प्रदेशलाई दिने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाए ।
‘मधेस प्रदेशलाई दिने जुन अनुदान छ । झन यो गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्तायोग्य छ । यसले गर्दा भोलि संघीयतामाथि नै खतरा हुन्छ कि त्यसमा पनि पुनर्विचार होस्’ उनले भने ।
सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशको लागि नछुट्याएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


