जनकपुरधाम, १७ जेठ । मधेस प्रदेशका एक सांसदले जनता अवास कार्यक्रमको संयोजक पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य पारस प्रसाद साहले जनता अवास कार्यक्रम अन्तर्गत बारा जिल्लाको संयोजक पदबाट राजीनामा दिएका हुन् ।

सांसद साहले भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव समक्ष राजीनामा पत्र बुझाएका छन् ।

उनले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित गरिएको रकमबाट नेपाल सरकारको सुचिमा पर्ने दलित समुदाय मध्येबाट प्रदेशले दिएको निर्देशीका भित्र रहि कार्यक्रम अगाडि बढाउनु पर्नेमा प्रदेश सरकार मातहत रहेको सहरी भवन कार्यालयका प्रमुखसँग विगत ८ महिनादेखि पटक पटक समन्वय गरि मिटिङ्ग बसाई कार्य विधि बमोजिम लाभग्राहीले दिएको निवेदन अनुसार कर्मचारी खटाइ अनुगमन गराइ छनौट गर्नु पर्नेमा कार्यक्रमप्रति कुनै किसिमको काम कारवाही अगाडी नबढाइएकाले आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

कुनै पनि मितिको निर्णयलाई कार्यवन्यन नगरी विना कुनै जानकारी रौतहट जिल्लामा बनेको घरहरुको बक्यौता भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत नेपाल सरकारसँग माग गर्नको सट्टा बारा जिल्लाकै रकम रकामान्तर गर्न ३ महिना देखी सिफारीस गरी प्रदेशको भौतिक मन्त्रालयमा लगेको र बाराको कार्यक्रम अगाडी बढाउन कुनै किसिमको प्रक्रिया बढाउन नसकेको तथा प्रदेशको निर्देशिका भित्र पनि नरही आफ्नो मनोमानी तरीकाले जनता आवास कार्यालय तथा बाराका कर्मचारीहरुलाई समेत बेवास्ता गरिएको उनको आरोप छ ।

उनले गैरकानुनी रुपले कार्यक्रम संचालन गर्न खोजेको विषयमा ३/४ पटक भौतिक पूर्वाधार विकास मन्त्रीलाई र १०औं पटक मुख्यमन्त्रीलाई समेत जानकारी गराएपनि कार्यक्रममा कुनै किसिमको परिर्वतन नदेखिएकोले आफूले आजैको मितिदेखि लागु हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिए ।