जनकपुरधाम, १७ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।

जेठ २१ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।

नीति तथा कार्यक्रममा छोरी शिक्षा बिमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मधेस प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिनेसमेत मन्त्री साहले जानकारी दिए ।

बजेट प्रस्तुत गर्नुअघि प्री बजेट पनि ल्याउने तयारीमा मधेस प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको हो ।

त्यसअघि प्रदेश सभा सचिवालयले जेठ १९ गते विहिवार दिउँसो १ बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको छ ।