एजेन्सी, १६ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् ।

दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।

खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका छन् । सहरको रक्षा गर्न काम नगरेको र आफ्नो बारेमा मात्र सोचेको आरोप लगाउँदै जेलेन्स्कीले ती सुरक्षा प्रमुखलाई बर्खास्त गरेका हुन् ।

अन्य सुरक्षा अधिकारीले धेरै प्रभावकारी रूपमा काम गरेको तर बर्खास्त गरिएका सुरक्षा प्रमुखले केही नगरेको उनको भनाइ थियो ।

राष्ट्रपतिले ती अधिकारीको नाम नखुलाए पनि युक्रेनी सञ्चारमाध्यमले उनी खार्किभ क्षेत्रको एसबीयू सुरक्षा सेवाका प्रमुख रोमन दुदिन भएको जनाएका छन् ।