काठमाडौं, १६ जेठ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

झापा एक खेल अगावै बढुवा हुने निश्चित भएको हो । पराजित वीरगञ्ज भने रेलिगेसनमा परेको छ ।

एन्फा कप्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन पुजन राईले ४ तथा सन्तोष लावतीले एक गोल गरे । खेलको १३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै भटोलीको अग्रत दोब्बर बनाए

७४ औं मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३–० ले अघि बढाए । थप गरिएको समयमा सन्तोषले झापालाई ४–० को अग्रता दिलाए ।

थप गरिएको समयमै पुजनले व्यक्तिगत चौंथो गोल गरेपछि झापाले ५–० को शानदार जित हात पारेको हो ।

जितसँगै १२ खेलमा ३१ अंक जोडेको झापा शीर्ष स्थानमा समेत उक्लिएको छ । समान खेलबाट पाँच अंकका साथ वीरगञ्ज १३ औं स्थानमा छ ।