काठमाडौं, १६ जेठ । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ ।

सोमबार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आजदेखि सुरु भएको परीक्षा जेठ २५ गतेसम्म चल्ने छ ।

परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी रहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

देशभरका १ हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको उनले बताए ।

७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन् ।