एजेन्सी, १५ जेठ । श्रीलङ्काले रुसी तेल लिन थालेको देशका उर्जा मन्त्री कन्चन विजेसेकेराले बताए । अहिले श्रीलङ्काले लिएको तेल एक महिनादेखि उसको समुद्र तटमा रहिरहेको थियो ।

दुवईस्थित कोरल इनर्जीले ढुवानी गरेको तेलको पैसा श्रीलङ्काले तिर्न नसकेपछि सो तेल बन्दरगाहमै रोकिएको थियो । अहिलेको ९० हजार टन कच्चा तेलको लागि श्रीलङ्काले ७ करोड २६ लाख डलर तिर्नेछ ।

९० हजार टनको ढुवानीपछि देशको एक मात्र तेल प्रशोधन केन्द्र पनि सुचारु हुने मन्त्री विजेसेकेराले बताए । देशले तेल किन्न नसकेपछि गत मार्च २५ देखि सो प्रशोधन केन्द्र बन्द छ ।

‘अहिलेको ढुवानी दुवईस्थित कोरल इनर्जीले गरेको हो । हामी आगामी ढुवानी पनि सोही कम्पनीबाट गर्नेछौँ । प्रशोधन केन्द्र निरन्तर चलाउनका लागि दुई साताभित्र अर्को ढुवानी भई सक्नुपर्छ,’ मन्त्री विजेसेकेराले भने ।

कोलम्बो बाहिरी भागमा रहेको सपुगासकाण्ड प्रशोधन केन्द्रले दैनिक १००० टन डिजेल उत्पादन गर्न सक्छ ।

रुसबाट सिधै कच्चा तेल तथा कोइला ढुवानीको व्यवस्था मिलाउन श्रीलङ्काले रुससँग वार्ता अघि बढाएको छ । अमेरिका र पश्चिमी शक्तिले रुसी बैँकमाथि प्रतिबन्ध लगाए पनि श्रीलङ्काले रुससँग तेल किन्ने निधो गरेको छ ।

श्रीलङ्का स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । जसका कारण देशभर इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव सिर्जना भएको छ ।