काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार संसदमा आव ०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

उनले जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने पनि बताए ।

उनले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको पनि उल्लेख गरे । त्यसैगरी मृगौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधी उपचार खर्चबापत मासिक ५ हजारका दरले उपलब्ध गराउन १ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याएको उनले बताए ।

मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।