एजेन्सी, १४ जेठ । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल शनिबार राति हुँदैछ।

उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने फाइनल खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने मौका छ ।

युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगको उपाधि पनि जित्ने मौका छ । यता प्रिमियर लिग जित्न चुकेको लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्ने मौका छ । त्यसका लागि लिभरपुल तयार छ ।

लिभरपुलले पछिल्लोपटक सन् २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । यो सिजन भने लिभरपुललाई लिगको उपाधि जित्न सहज छैन् । किनभने च्याम्पियन्स लिगको सर्वाधिक च्याम्पियन टोली रियलसँग प्रतिस्पर्धा गर्नुछ ।

लिभरपुलका जर्गेन क्लोप फाइनलका आफूहरु तयार रहेको बताएका छन् । च्याम्पियन्स लिग जित्ने आफूहरुलाई यो राम्रो मौका भएको पनि बताए । उनले रियलसँग फाइनल खेल भएका कारण केही डर भएको बताए ।

‘च्याम्पियन्स लिग फाइनलका लागि हामी तयार छौं । रियलसँग फाइनल खेल भएका कारण केही डर पनि छ,’ क्लोपले भने ।

यता रियलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पेरिसमा टिम १४ औं उपाधि जित्नका लागि तयार भएको बताए । उनले लिभरपुल उत्कृष्ट टोली भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘हाम्रो टोली उपाधिका लागि तयार छ । लिभरपुल बलियो टोली भएकाले खेल प्रतिस्पर्धात्मक हुनेछ,’ एन्सेलोटीले भने ।

युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ । यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।