एक दिवसीय शृंखलाका लागि नेपाली टोलीको बिदाई

काठमाडौं, १४ जेठ । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदै छ ।
टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले बिदाई गरेको हो । भ्रमण गर्न लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री गहतराजले सफलताको शुभकामना दिए । विदाई कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको उनले बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आशावादी रहेको बताए ।
‘पछिल्लो समय हाम्रो ब्याटिङ पक्ष सन्तोष जनक थिएन । यो बीचमा हामीले खेलेको शृंखलामा त्यो पक्षलाई सुधार गरेका छौं, जसले गर्दा खेलाडीको रिदम फिर्ता आएको छ । अमेरिका भ्रमणमा हामीले ब्याटिङबाटै जित आत्मसात गर्छौं,’ कप्तान लामिछानेले भने, ‘१२ वटा मात्र खेल खेलेका छौं । सबैले हाम्रो तालिका हेर्दा तल हरेको लाग्न सक्छ । हामीले अझै २४ खेल खेल्न बाँकी छ । अहिलेको अवस्थामा सबैले उत्तिकै मिहिनेत गरि राख्नु भएको छ । प्रशिक्षकले भनिरहनु भएको छ, एसोसियट राष्ट्रमा यतिको बलियो टोली कुनै पनि छैन ।’
पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिकासमेत रहेको छ ।
नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए
‘टोलीको प्रदर्शनमा म विश्वस्त पनि छु । यो मिहिनेतले हामीले एक दिवसीय मान्यतालाई गुमाउने छैनौं । अमेरिका भ्रमणलाई सार्थक बनाउँदै हामी तालिका स्थान सुधार गर्न चाहन्छौं । शृंखला टोलीको पक्षमा आउनेमा म आशावादी छु’ उनले भने ।
लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौं तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।
आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ ।
यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुछारमा छ ।
अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


