काठमाडौं, १४ जेठ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् ।

काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भए । काठमाडौंमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१ र धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भए ।

स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका हुन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भए । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भए ।