एजेन्सी, १३ जेठ । टेक्सासको उभाल्डेमा मंगलबार भएको सामूहिक गोलीकाण्डमा मारिएका एक शिक्षिकाका श्रीमानको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

जो गार्सिया इर्मा गार्सियाका पति थिए । इर्माले उक्त रोब इलिमेन्टरी स्कूलमा विगत २३ वर्षदेखि अध्यापन गराइरहेकी थिइन् ।

एक किशोर बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिका सहित २१ जनाको ज्यान गएको उक्त घटनामा दुई शिक्षकसमेत मारिएका थिए, जसमध्ये एक गार्सिया पनि थिइन् ।

२४ वर्षदेखि विवाह बन्धनमा बाँधिएका यी दम्पतीका चार सन्तान छन् ।

बिहीबार रातिसम्म, गार्सिया परिवारको लागि अनलाइन कोष संकलनमा १.६ मिलियन डलर जम्मा भइसकेको थियो । सुरुमा १० हजार डलर रकम संकलन गर्ने उद्देश्य राखिएको थियो ।

गोफन्ड मी पेजमा बताइए अनुसार ग्रासियाकी कजन डेब्रा अस्टिनले लेखेकी छिन्, ‘म साँच्चै विश्वास गर्छु कि जोको निधन हृदय टुटेका कारण भएको हो ।’

ट्विटरमा गार्सियाका भतिजा जोन मार्टिनेजले भने, ‘गार्सिया आफ्नी श्रीमतीको हत्या भएपछि अत्यन्त दुःखित थिए । यसै दुःखका कारण उनको निधन भयो । ’

एक स्थानीय फक्स सम्बद्धले बताए अनुसार गार्सियाको मृत्यु भयानक हृदयघातका कारण भएको हो ।

गार्सिया जोडीले १२ देखि २३ वर्षसम्मका दुई छोरा र दुई छोरीलाई टुहुरो बनाएर बिदा भए ।

उभाल्डेमा घातक गोलीबारी पछि, मार्टिनेजले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा गार्सियाले आफ्नो अन्तिम साससम्म आफ्ना कक्षाका बालबालिकाहरुलाई अँगालो मारिरहेको अवस्थामा भेटिएको जानकारी दिए ।

‘उनले आफ्नो कक्षाकोठामा बच्चाहरूको सुरक्षा गर्न आफूलाई बलिदान दिइन्, ’उनले कोष सङ्कलन पृष्ठमा लेखे । ‘उनी एक नायक थिइन् ।’

गार्सिया र गोलीबारीमा मारिएकी अर्की शिक्षिका, इभा मिरेलेस, पाँच वर्षदेखि सँगै पढाउँदै आएका थिए र उनीहरूबीच ४० वर्षभन्दा बढीको अनुभव थियो ।