काठमाडौं, १३ जेठ । ‘कान्तिपुर हाफ म्याराथन’ को १०औँ संस्करण २१ जेठमा हुने भएको छ ।

आयोजक कान्तिपुर पब्लिकेसन्सले यसअघिका संस्करण आफ्नो वार्षिकोत्सवको दिन अर्थात फागुन सात गर्ने गरेको थियो । तर, यो पटक फरक मितिमा गर्ने भएको हो ।

यस संस्करणको प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यसपटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले जनाएको छ ।

हाफ म्याराथन कान्तिपुरको कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट सोहि रुट हुँदै सुरुवाती विन्दुमै आएर टुङ्गिने छ ।

यस्तै, सेन्ट्रल बिजनेस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डलाबाट फर्किएर सुरुवाती विन्दुमै आएर टुङ्गिने छ ।कोरोना महामारीका कारण रोकिएको प्रतियोगिता दुई वर्षपछि हुन लागेको हो ।

हाफ म्याराथनको महिला÷पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पाउने छन् । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउने छन् ।

कर्पोरेटको विजेतालाई पोखरामा २ रात र ३ दिन घुम्ने प्याकेज तथा उपविजेतालाई नगरकोटमा १ रात र तेस्रोले माउन्टेन फ्लाइटको प्याकेज पाउने छन् ।

ह्वीलचेयरको विजेताले ३०, दोस्रोले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् । एनआइसी एसिया बैंकको प्रमुख प्रायोजनमा हुने प्रतियोगिताको लागि जेठ १७ गतेसम्म्का लागि दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।