जनकपुरधाम, १३ जेठ । जनकपुरधाममा शपथ ग्रहण बहिष्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा आयोजित कार्यक्रमका बिच नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले नगरप्रमुख मनोज साहबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यसअघि बिहिवार आयोजित शपथ ग्रहण कार्यक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए । उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि कार्यक्रम बहिष्कार गरेका थिए ।

एमालेका ७ जना वडाध्यक्ष र सदस्यहरुले शुक्रवार शपथ लिएसँगै आजैबाट आ–आफ्नो वडा कार्यालय पुगेर कार्यभार समेत सम्हालेका छन् ।

जनकपुरधाम उपमहानगरमा २५ वडा रहेकोमा ११ वडामा नेपाली कांग्रेस, ७ मा नेकपा एमाले, दुईमा नेपाली कांग्रेसका बागी उम्मेदवार, दुईमा लोकतान्त्रिक समाजवादी पार्टी, एकमा जनता समाजवादी पार्टी, एकमा तराइ मधेश लोकतान्त्रिक पार्टी र एकमा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।