आगोले पोलेर घाइते महिलालाई बुद्ध एयरको जहाजले बोक्न मानेन

काठमाडौं, १२ जेठ । नेपालीको निजी एयरलाइन्स कम्पनी बुद्ध एयरलाइन्सको जहाजले घाइते महिलालाई बोक्न अस्वीकार गरेको छ ।
टिकट काटेर विमानस्थलमा घण्टौँ कुराएर अन्तिममा जहाजले बोक्न नमानेको हो ।
बाजुराको बुढीगंगा नगरपालिका–१० की २३ वर्षीया लोकसरी कुँवरलाई यही जेठ ३ गते घरमा काम गर्ने क्रममा आगोले पोलेको थियो ।उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो ।
बाजुराका पत्रकार प्रकाश सिंहका अनुसार महिलालाई बयलपाटा अस्पतालले काठमाडौंको लैजान भनेको थियो । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण काठमाडौं ल्याउन समस्या परेको थियो । पत्रकार सिंहसहितले आर्थिक स्रोत जुटाउन पहल गरेपछि लोकशरीका पति एकेन्द्र कुँवरले उनलाई काठमाडौं ल्याउने तयारी गरेका थिए ।
पत्रकार सिंहसहितले लोकसरीलाई ललितपुरको पाटन अस्पतालमा उपचार गर्ने गरी व्यवस्था मिलाएर पठाउन खोजेका थिए ।
बिरामीलाई बिहानै धनगढी लगिएको थियो । साँझ ६ बजे विमानस्थल गएर धनगढीबाट काठमाडौं ल्याउनका लागि साँझ ७ः४५ बजेको टिकट काटियो । तर बुद्ध एयरको जहाज ढिलो गरी राति ९ बजे धनगढी विमानस्थल पुग्यो ।
बिरामीलाई बोडिङ सम्म गर्न लगाएर अन्तिममा पाइलट र कर्मचारीले फिर्ता पठाएको सिंहले बताए ।
बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक सिंहसहितले बुद्वएयरको पाइलट र कर्मचारी टिमलाई राति १० बजेसम्म धेरै अनुरोध गर्दा पनि लोकसरीलाई बोक्न नमानेको पत्रकार सिंहको गुनासो छ ।
चिकित्सकले पनि विमानबाट जान मिल्छ भनेको र बिरामी आफैँले बसेर जानसक्छु भनेको अवस्थामा एयरलाइन्सले दादागिरी देखाएर नल्याएको आरोप पीडित परिवारको छ । राति १० बजे विमानस्थलाट फर्किएपछि महिलालाई एम्बुलेन्सबाट पठाइयो ।
–हेल्थपाटी
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


