काठमाडौं, १२ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यू–२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।

एन्फाको टेक्निकल कमिटीको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा सातदोबाटो चौथो भएको थियो । त्यसअघि उनी थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमको प्रशिक्षक बनिसकेका छन् ।

उनले नेपालको यू–१९ फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् ।

नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् ।