जनकपुरधाम, ११ जेठ । मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिएका हुन् ।

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए ।

उनले यस प्रदेशका नागरिकले सबै अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने भन्दै मन्त्रालयको नाम फेरिएको बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी भएको एघार महिना बितेपछि मन्त्रालयको नाम फेरिएको हो ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री साहले मन्त्रिपरिषद्को निर्णय अनुसार नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।

मन्त्रालयको नाम परिवर्तन भएको सूचना मधेश प्रदेशको राजपत्रमा प्रकाशित भएको छ ।

सो मन्त्रालयको स्थापनाकालमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको थियो । तर पछि सो मन्त्रालयको विभाजन हुँदा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो । त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो ।

जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।