जनकपुरधाम, ११ जेठ । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका शेख अब्दुल कलाम आजाद पनि पराजित भएका छन् ।

रौतहटको गढिमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका आजाद ५६८ मतको अन्तरले पराजित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजाद नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवसँग पराजित भएका छन् । यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत पाएका छन् ।

मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार आजाद दोस्रो नम्बरमै सीमित भएका हुन् ।

उनी प्रदेश सभामा विकास समितिका सभापति समेत थिए । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा समेत पराजित भएका थिए । त्यसपछि प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र ४ (२) बाट स्वतन्त्र उम्मेदवारी दिई उनी विजयी भएका थिए । विजयी भएपछि उनी जसपामा प्रवेश गरे ।

यसअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहासमेत पराजित भइसकेका छन् ।सर्लाहीको गोडैता नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भए ।

यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका थिए ।

गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।