चितवन, ९ जेठ । चितवनको भरतपुर महागनरपालिकाको मेयरमा रेनु दाहाल दोहोरिने निश्चित भएको छ ।

नेकपा माओवादी केन्द्रकी दाहाल सत्ता गठबन्धनबाट सो महानगरमा उम्मेदवार छिन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने निश्चित भएको छ । उनी पनि सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका हुन् ।

दाहाल र अधिकारी दुवैले प्रतिस्पर्धी उम्मेदवारलाई १० हजारभनदा बढी मतान्तरले पछि पारेका छन् । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ दोस्रो स्थानमा छन् ।

कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उठेका जगन्नाथ पौडेल तेस्रो स्थानमा छन् । उनले हालसम्म १३ हजार ८२२ मत मात्रै ल्याएका छन् ।

अहिलेसम्म मेयरमा रेनु दाहालले ४५ हजार ३८९ मत ल्याएकी छन् । अर्कातिर पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ७३८ मत ल्याएका छन् ।

मेयर पदमा एमालेका सुवेदी दाहालभन्दा १० हजार ६५१ मतले पछाडि छन् । यो अन्तर गन्न बाँकी १० हजार ३२४ मत भन्दा ३२७ ले धेरै हो ।

गन्न बाँकी मतभन्दा बढी उनीहरुको पक्षमा आइसकेकाले दुवैको जित पक्का भएको हो । भरतपुरका तीन वडाको मत गन्न बाँकी हुँदै उनीहरुको जित पक्का भएको छ ।

उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६,४७१ मत ल्याएर जित पक्का गरिसकेका छन् । उनले १९ हजार ६७ मतको अग्रता लिएका छन् ।

एमालेसँग मिलेर उपमेयरमा उठेकी राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् ।

भरतपुर महानगरपालिकामा वडा २७, २८ र २९ को मतगणना गर्न बाँकी छ । वडा २७, २८ र २९ मा १० हजार ३२४ मत खसेको थियो ।

भरतपुरका २४ वटा वडाको नतिजा अहिलेसम्म आइसकेको छ । जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएका छन् ।

१३ र २४ नम्बरमा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । ७, ९, २२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । अन्य सबै वडामा कांग्रेस विजयी भएको छ ।