काठमाडौं, ८ जेठ । नव निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल सुरु गर्दैगर्दा लोकप्रिय निर्णयहरु गर्ने क्रम जारी छ ।

यसै क्रकमा बैतडीका एक जनप्रतिनिधिले छोरी जन्माउने महिलालाई थप भत्ताको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

पाटन नगरपालिका–१० का नवनिर्वाचित वडाध्यक्ष धनबहादुर कुँवरले पदभार ग्रहण गर्दै पहिलो छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिने निर्णय गरेका हुन् ।

यस वडाका कुनै महिलाले स्वास्थ्यचौकी पहिलो छोरी जन्माउँदा सरकारले दिने भत्तामा थप एक हजार भत्ता थप गर्ने निर्णय कुँवरले गरेका छन् ।

छोरा र छोरीबीच हुने विभेदलाई कम गर्न यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन होस भनेर हामीले यो निर्णय गरेका हौँ’ वडाअध्यक्ष कुँवरले भने, ‘यसले छोरा, छोरीबीचको विभेद कम हुने विश्वास गरेका छौँ ।’