काठमाडौं, ८ जेठ । राष्ट्रिय खेल भलिबल घोषणा भएको पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ८ जेठ २०७४ मा नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।

त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनलाई भलिबल दिवसको रूपमा मनाउँदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल व्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाएको छ ।

नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामी विस्तारै व्यावसायिक हुँदैछौँ । यसलाई अझै विस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन,’ उनले भने ।