लाइप्जिगलाई पहिलोपटक जर्मन कपको उपाधि

एजेन्सी, ८ जेठ । डिएफबी पोकल (जर्मन कप) को उपाधि आरबी लाइप्जिगले उचालेको छ ।
नौ खेलाडीमा समेटिएको लाइप्जिग गएरातिको फाइनलमा फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विजेता बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा लाइप्जिगका क्रिस्टोफर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे ।
फ्रेइवर्गका निल्स पिटर्सन र केभिन स्लोटरबेक गोल गर्न सफल हुँदा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमिरोभिक चुके । त्यसअघि बर्लिनस्थित ओलम्पिया स्टेडियनमा खेलको १९ औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेइवर्गले सुरुवाती अग्रता लिएको थियो ।
५७ औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले सिधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लाइप्जिग १० खेलाडीमा समेटियो । ७६ औं मिनेटमा क्रिस्टोफर एनकुकुले लाइप्जिगलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
११८ औं मिनेटमा लाइप्जिग ९ खेलाडीमा समेटिन पुग्यो । केभिन काम्पलले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेका थिए । नौ खेलाडीमा समेटिएको लाइप्जिगले टाइब्रेकरमा जित निकाल्दै पहिलोपटक मुख्य प्रतियोगिताको उपाधि उचालेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


