बागलुङ, ८ जेठ । ऐँसेलु र आलुचा खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् ।

घरनजिकैको बारीमा आलुचा र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।

ऐँसेलु र आलुचा खाएका बालबालिकामा झाडापखला, बान्तालगायत समस्या देखिएर गम्भीर बनेपछि चारैजनाको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले खाएको आलुचा र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेको धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कँडेलले जानकारी दिइन् ।