युगान्डाविरुद्धको अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, ७ जेठ । घरेलु टोली नेपालले युगान्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोस्रो जित हात पारेको छ ।
सिरिज गुमाइसकेको नेपालले आज सम्पन्न पाँचौं तथा खेलमा ३३ रनको जित हात पारेको हो ।
१२४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।
युगान्डाका लागि रीता मुसामालीले सर्वाधिक २६, केविन अविनोले १५, साकिरा सेडिकले अविजित १३ र जेनेट एम्बाबाजीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सीता राना मगर र इन्दु बर्माले दुई/दुई तथा हिरन्मायी रोय र अस्मिना कर्माचार्यले एक/एक विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान दिइन् । ६१ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् ।
कविता जोशीले अविजित १८, सीता राना मगरले १७ र अप्सरी बेगमले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युगान्डाका लागि कोन्सी अविको र फिओना कुलुमेले एक/एक विकेट लिए । चार विकेट रन आउका रूपमा प्राप्त भयो ।
नेपालको यो जितसँगै पाँच खेलको सिरिज ३–२ मा सकिएको छ । यसअघि युगान्डाले १२ रन तथा १ र ६ विकेटको जित हात पार्दा नेपाल १५ रनले विजयी भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


