जनकपुरधाम, ७ जेठ । धनुषामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

जिल्लाको सबैला नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको हो ।

माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएकी हुन् ।

मेयरमा निर्वाचित कारीरामले ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साह मधुपले ४ हजार ७६ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका राजकिशोर यादवले ३ हजार ५८१ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेकपा माओवादी केन्द्रकी रहिमा खातुनले ४ हजार ६९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी किरण कुमारी कापरले ३ हजार ६०४ मत पाएकी छन् । त्यस्तै, लोसपा नेपालकी नितु यादव पासवानले ३ हजार ६० मत ल्याएकी छन् ।

मेयरमा निर्वाचित कारीराम मातृका प्रसाद यादवका कान्छो भाइ हुन् ।

धनुषाको १८ पालिका मध्ये १६ वटाको अन्तिम नतिजा आउँदासम्म एउटा पालिकामा पनि माओवादी केन्द्रले जित हात पारेको थिएन ।