काठमाडौं, ६ जेठ । घरेलु टोली नेपालले युगान्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित हात पारेको छ ।

सिरिज गुमाईसकेको नेपालले आज सम्पन्न चौथो खेलमा १५ रनको जित हात पारेको हो ।

९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो ।गएरातिको वर्षाका कारण मैदान भिजेकाले टसमा ढिलाइ हुँदा खेललाई १८ ओभरमा झारिएको थियो ।

युगान्डाका लागि जेनेट एम्बाबाजीले सर्वाधिक २१, रीता न्यांगेन्डो र एभलिन एनिपोले १६÷१६ तथा केविन अविनोले ११ बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेकी हिरन्मायी रोयले दुई तथा कविता कुँवर, अस्मिना कर्माचार्य र कप्तान रूबिना क्षेत्रीले एक÷ एक विकेट हात पर्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७, विन्दु रावलले १६ र सीता राना मगरले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाका लागि कोन्सी अविकोले तीन, सारा अकिटेंगले दुई तथा जेनेट एम्बाबजी र फिओना कुलुमेले एक/एक विकेट लिए । तीन विकेट रन आउका रूपमा प्राप्त भयो ।

नेपालको यो जितसँगै पाँच खेलको सिरिज ३–१ को पुगेको छ ।

यसअघि युगान्डाले १२ रन तथा १ र ६ विकेटको जित हात पारेको थियो । पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।