काठमाडौं, ६ जेठ । एएफसी एसिया कप छनोटअन्तर्गत तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने अटाएका छैनन् ।

त्यस्तै, रोहित चन्द, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अञ्जन बिष्ट लगायतका १० सिनियर खेलाडी पनि टोलीमा छैनन् ।

उनीहरूले प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए ।

किरणसहित १० सिनियर खेलाडी टोली बाहिर रहँदा यसपटक राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन् ।

रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर नीरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

नेपाली टोलीः

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, सुमन अर्याल विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ
मिडफिल्डरः सुनल बल, पुजन उपरकोटी, आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी
फरवार्डः नवयुग श्रेष्ठ , आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की र मनिष डाँगी