जनकपुरधाम, ६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी छन् ।

जनता समाजवादी पार्टीबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी मुख्यमन्त्रीकी पत्नी जलेखा खातुन पराजित भएकी हुन् ।

उनले ३ हजार १२३ मत प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेकी छन् ।

जगरनाथपुरको उपाध्यक्षमा नेपाली कांग्रेसकी बबिता सिंहले ५ हजार ५३१ मत प्राप्त गरी विजयी भएकी छन् भने नेकपा एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत ल्याएर दोस्रो भएकी छन् ।

सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादव ५ हजार ७४९ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद सलिम मंसुरले ३ हजार ९२६ र जसपाका कृष्णमोहन प्रसाद यादवले ३ हजार ४४७ मत पाएका छन् ।

यसअघि मुख्यमन्त्री राउतका पूर्व मुख्य स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पनि पराजित भएका छन् । दीपकले जमानत समेत जोगाउन सकेनन् ।

निर्वाचन हुनुभन्दा अघि राजीनामा दिएर पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका दीपक यादवले चौथो स्थान हासिल गरे । उनले मात्र ४६९ मत ल्याउन सकेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरीले ५ हजार १४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनाराण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ र जसपाका दीपक यादवले ४६९ मत पाएका छन् ।

बिहीबार मतगणना सम्पन्न भएपछि आएको मतपरिणामअनुसार यादव चौथो नम्बरमा सीमित भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै ममता महतो ४ हजार ४४४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत प्राप्त गरेकी छन् ।

मुख्यमन्त्री राउतका स्वकीय सचिव पशुपति यादव पनि धनुषाको कमला नगरपालिकाको मेयर पदमा पराजित भएका छन् ।

त्यस पालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका मुख्यमन्त्री राउतका स्वकीय सचिव पशुपतिले २ हजार ८५९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन् ।