प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका कुशवाहा पराजित

जनकपुरधाम, ५ जेठ । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् ।
सर्लाहीको गोडैता नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका छन् ।
यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका छन् ।
बिहिबार गौडैताको मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार कुशवाहा दोस्रो नम्बरमै सीमित भएका हुन् ।
उपप्रमुखमा पनि लोसपाकै अन्जना कुशवाहा ५ हजार ३०१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रामसखी देवीले ४ हजार ४९३ मत प्राप्त गरेकी छन् ।
गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


