जनकपुरधाम, ४ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गृहपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष राउतको गृहपालिका सप्तरीको महादेवा गाउँपालिकामा लोसपाका उम्मेदवार विजयी भएका हुन् ।

सो पालिकामा लोसपाका सुनिल कुमार मण्डलले ४ हजार ५७० मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक कुमार यादवले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै, जसपाका शिवनन्दन यादवले १ हजार ७४२ मत पाएका छन् ।

सो गाउँपालिकामा जनमत पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चौथो स्थानमा छन् । जनमतका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत मात्र ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि लोसपाकै अर्चना कुमारी यादवले ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शुषमा कुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी हुन् । त्यस्तै, जसपाकी राखी कुमारी यादवले १ हजार ६९४ मत प्राप्त गरेकी छन् भने जनमतकी ललिता कुमारी मण्डलले १ हजार ५८५ मत मात्र प्राप्त गर्न सफल भएकी हुन् ।

जनमतका अध्यक्ष राउतले मतदान गरेको आफ्नै पालिकामा पनि पार्टीका उम्मेदवारलाई जिताउन सकेका छैनन् ।