एजेन्सी, ३ जेठ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । ऊ पञ्जाब किंग्सलाई १७ रनले हराउँदै विजयी भएको हो ।

जितसँगै दिल्ली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

उसका लागि जितेश शर्माले सर्वाधिक ४४ रनको योगदान दिए । ३४ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।राहुल चाहरले अविजित २५, जोनी बेरिस्टोले २८ र शिखर धवनले १९ रन जोडे ।

दिल्लीका शार्दुल ठाकुरले चार, अक्षर पटेल र कुलदीप यादवले दुई/दुई तथा एनरिक नोर्टजेले एक विकेट लिए । त्यससअघि मुम्बईस्थित डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

उसका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे ।सर्फराज खानले ३२, ललित यादवले २४ र अक्षर पटेलले अविजित १७ रन बनाए । पन्जाबका लियाम लिभिङ्गस्टोन र अर्शदीप सिंहले तीन÷तीन तथा कागिसो रबाडाले एक विकेट लिए ।

यो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । पराजयसँगै प्लेअफ सम्भावना कमजोर बनेको पञ्जाब १३ खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।