पूर्वमन्त्री सोनलले मतदान गरेको पालिकामा एमालेको क्लिन स्वीप

जनकपुरधाम, ३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जितेन्द्र सोनलको पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पूर्वमन्त्री सोनलले मतदान गरेको वडामा पनि एमालेकै प्यानल विजयी भएको हो ।
बाराको परवानीपुर गाउँपालिका–३ मा एमालेले लोसपाका उम्मेदवारलाई पराजित गरेका छन् ।
एमालेका रामक्षत्रि प्रसाद कुर्मीले २ हजार ९१७ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगत नारायण महतोले २ हजार ४४३ मत प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका लालबाबु प्रसाद यादवले २ हजार ४२६ मत पाएका छन् ।
त्यस्तै, उपाध्यक्षमा पनि नेकपा एमालेकै सुगान्धी देवी कनुइनले ३ हजार २३२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी सावित्री देवीले २ हजार ३८७ मत ल्याएकी हुन् । त्यस्तै, नेपाली कांग्रेसकी कुराननेसा खातुनले २ हजार १९४ मत प्राप्त गरेकी छन् ।
पूर्वमन्त्री सोनल र एकवाल मियाले मतदान गरेको आफ्नै वडामा पनि एमालेकै उम्मेदवार विजयी भएका हुन् ।
बाराको परवानीपुर गाउँपालिका–३ मा नेकपा एमालेका उम्मेदवार इब्राहिम मियाँ धोबीले ८४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका अनिल रामले ८२१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा नम्बर–१ मा नेपाली कांग्रेसका चोकट महतो धानुकले ७८० मत प्राप्त गरी जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका मिश्री महतोले ६२० मत पाएका छन् ।
वडा नम्बर–२ मा नेकपा एमालेका मो. नुरुल होदा अन्सारीले ५८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेश लाल साहले ४८५ मत ल्याएका हुन् ।
वडा नम्बर–४ मा लोसपाका गम्भिरा राउत कुर्मीले ६१५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र प्रसाद पटेलले ६०६ मत पाएका छन् ।
उता, वडा नम्बर–५ मा जसपाका रामेश्वर साह कलवार ८५९ मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबहादुर कुर्मीले ७३४ मत ल्याएका हुन् ।
केही महिना अघि पूर्वमन्त्री सोनलले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने दावी गरिरहँदा उनले आफ्नै पालिका र वडामासमेत लोसपालाई स्थापित गर्न नसक्दा अहिले उनको चौतर्फि आलोचना भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


