जनकपुरधाम, २ जेठ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

सोमबार साँझ सम्पन्न भएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४ हजार ६६८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका विनोद कुमार साहले ३ हजार २७१ मत ल्याएका हुन् ।

यस्तै उपाध्यक्षतर्फ कांग्रेसकै श्यामकला यादव ४ हजार ६१० मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी गिता देवी रायले ३ हजार ३११ मत ल्याएकी छन् ।

यस्तै गाउँपालिकामा रहेको सातवटै वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए ।

सर्लाहीमा हालसम्म चारवटा पालिकाको अन्तिम परिणाम आएकोमा तीनवटामा कांग्रेस र एउटामा माओवादी केन्द्रले जित हात पारेको छ ।