स्थानीय निर्वाचन अपडेट : १३० स्थानको परिणाम सार्वजनिक, १३ नगरप्रमुखसहित साढे १३ हजार उम्मेदवार निर्वाचित

काठमाडौं, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको बताएका हुन् ।
जसमध्ये नगरप्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले जानकारी दिए । त्यसैगरी, वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्वाचित भएको उनले उल्लेख गरे ।
विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती माविमा आज मतदान भएको प्रवक्ता पौडेलले बताए ।
त्यसैगरी, बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मावि र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रावि मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए ।
उनले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सुचना दिएर निर्वाचन गराइने बताए । आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहीँ पनि नचुकेको स्पष्ट पारे ।
‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन् । कोही काखा पाखा हुँदैनन् । निर्वाचन, निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने नै हो । त्यो भनेको मत गणना गरेर परिणाम ल्याउने बेलासम्मकै ड्युटी हो । त्यो विषयमा आयोग कहीँ पनि चुकेको छैन । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ । र कहीँ चुकेको छैन,’ उनले भने ।
छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


