जनकपुरधाम, १ जेठ । मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको स्थायी घर रौतहटको राजदेवी नगरपालिका–१ मा उनकै पार्टीका उम्मेदवारको जमानत जफ्त भएको छ ।

राज्यमन्त्री यादवको गृहनगर रौतहटको राजदेवी नगरपालिका–१ मा जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार हृदयनारायण यादव मात्र ३० मतमा सीमित भएका छन् ।

सो वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशप्रसाद यादव ६१० मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपा नेपालका उम्मेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरेका छन् ।

उम्मेदवार हृदयनारायण यादवले राज्यमन्त्री यादवले भ्रम फैलाएका कारण आफू पराजित भएको प्रतिक्रिया दिएका छन् । ‘मतदानको दिन मैले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाएर हाम्रो पार्टीको मत नेकपा एकीकृत समाजवादीतिर डाइभर्ट गराइयो,’ उनले भने, ‘यसबारे मैले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीका लागि माग गरेको छु ।’

राजदेवी नगरपालिकाको मेयरमा पनि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भिखारी यादवले अग्रता लिएका छन् ।