रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द

रौतहट, ३१ बैशाख । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्रको मतदान रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो ।
आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो ।
यसैगरी गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा विवादको क्रममा झडप हुँदा १५ जनाको टाउको फुटेको थियो । जसका कारण सो ठाउँमा रहेका दुई वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।
गढीमाई नगरपालिका–६ स्थित सिंगारवनमा रहेको दुई वटा मतदान केन्द्रका मतदान रद्द गरिएको छ । विवादको क्रममा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकल समेत आगजनी गरिएको थियो ।
बौधिमाई नगरपालिका–२ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदानकेन्द्रको मतदान पनि रद्द भएको छ । बौधिमाई नगरपालिका–२ स्थित इनरवा मतदान केन्द्रमा प्रर्दशनकारीले मतपेटिका फुटाएका थिए ।
मतदान स्थलको सबैभन्दा विचित्र दृश्य भने रौतहटको यमुनामाईमा देखिएको थियो । युमनामाई गाँउपालिका वडा नम्बर १ र २ का मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो । यमुनामाई–२ भेडियाहीमा मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर भागेका थिए । मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीकै अगाडिबाट मतपेटिका बोकेर भाग्दा पनि सुरक्षाकर्मी मुकदर्शक बनेर बसेका थिए ।
मतपेटिकका लुटिएको मतदान केन्द्रको निर्वाचन पनि रद्द भएको छ । यमुनामाई गाँउपालिका– १ का तीन वटा र वडा नं. २ का दुई केन्द्रको मतदान रद्द भएकाछ ।
किन भयो निर्वाचन भद्रगोल ?
निर्वाचन भद्रगोल हुनुको मुख्य दुई कारणहरु रहेका छन् । पहिलो कारण सुरक्षा व्यवस्थामा कमजोरी र अर्को करारका कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिनु ।
विवाद उत्पन्न भएको अधिकांश मतदान केन्द्रमा निर्वाचन कार्यालयले करारका कर्मचारी खटाएका थिए । स्थानीय तहका पूर्वजनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा नियुक्त गरेका कर्मचारीहरु सोही पालिकामा निर्वाचनमा खटिएर आउँदा उनीहरुको जनप्रतिनिधि तर्फको झुकाबले गर्दा धेरै ठाँउमा विवाद देखिएको स्थानीयको आरोप छ ।
प्रहरीको कमजोर निगरानी र कार्यदक्षताको कमीका कारणले साना विवादहरुले पनि उग्ररुप लिँदै झडपमा परिणत भएको थियो ।
प्रहरी प्रशासनले निर्वाचनलाई व्यवस्थीत बनाउन नसकेको उम्मेदवारहरुले आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


