जनकपुरधाम, ३० बैशाख । मधेश प्रदेशमा सामान्य घटनाबाहेक स्थानीय तहको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको छ ।

प्रदेशका जिल्लाहरुमा छिटफुट घटनाबाहेक ७० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो ।

मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ । त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहतमा ६५ प्रतिशत मतदान भएको छ ।

प्रदेशका कयौँ मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ । बारामा ४ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गरिएको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए ।

त्यस्तै रौतहटको ३ वटा मतदान स्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले बताए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर–२ स्थित इनरवारी प्रा.वि. मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रा.विं मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

त्यस्तै सप्तरीको १ मतदान स्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ को एक मतदान स्थलमा मतदान स्थगित गरिएको बताए ।

प्रदेशको कतिपय मतदान स्थलमा झडपसमेत भएको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो । प्रदेशको एक मतदान स्थलबाट स्थानीयले मतपेटिका लिएर समेत भागेका छन् ।

यसै क्रममा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अर्कैको नाममा मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा २० वर्षीय अमलेश सदा पक्राउ परेका हुन् । ग्रामिण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रबाट फर्जी मत खसाइरहेको अवस्थामा वडासदस्य शिवोदेवी सदाका छोरा अमलेश पक्राउ परेको बताइएको छ । वडासदस्य सदा जसपाबाट निर्वाचित भएकी थिइन् ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद भएको थियो ।

मधेश प्रदेशमा सबैभन्दा बढी तनाव सर्लाहीको धनकौल गाउँपालिकामा देखिएको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि त्यहाँ नेपाली सेना परिचालन गर्नु परेको थियो ।

धनकौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको थियो । धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो ।

लगत्तै केन्द्रको निर्देशनमा मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान गरिएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएको विभिन्न राजनीतिक दलको दाबी छ ।

यता धनुषाको मिथिलामा नगरपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको पाइएको छ । मिथिला नगरपालिका–२ नक्टाझिजको मतदान केन्द्र (ख) मा मतदान अधिकृतमा हस्ताक्षर नभएको मत खसेको हो । मतदपत्रमा मतदान अधिकृतले भूलवस हस्ताक्षर छुटेको र केही त्यस्तो मत खसेको स्वीकारेका छन् ।

मतदान अधिकृत निरञ्जनकुमार पण्डितले त्यो गल्ती गरेको सो केन्द्रका प्रमुख अधिकृत सन्तोषकुमार यादवले बताएका छन् ।

यसैबीच रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर–२ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर हिँडेका छन् ।

त्यहाँका स्थानीयबासिन्दाले श्री मावि मतदान केन्द्रको मतपेटिका लुटेका हुन् । उनीहरुले त्यहाँबाट तीनवटा मतपेटिका लिएर खेतैखेत भागेका हुन् ।

यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले मतपेटिका लिएर हिँडेपछि अवस्था सामान्य गरिएको बताए ।’ प्रहरी प्रशासनले पनि नियन्त्रण गर्न सकेन । २ देखि ३ वटा मतपेटिका लगिएको छ’, उनले भने, ’मतदान गरिएका मतपेटिका नै स्थानीय लुटेर सडकमा लगेर फुटाइदिएका छन् ।’

यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए । त्यहाँ दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

यो केन्द्रमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस र जसपाबीचको गठबन्धनका दलहरुबीच दिनभर तनाव भएको थियो ।

मधेशको ६ जिल्लामा गोली चल्यो, १५ घाइते

मतदानको क्रममा मधेस प्रदेशको ६ जिल्लामा गोली चलेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सप्तरी र पर्सामा गोली चलेको हो ।

धनुषाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । विवाद भएर केही समय रोकिएको मतदान पुनः सुरु भएको थियो ।

त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो ।

विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उता, सर्लाहीको धनकौलमा पनि गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सुरु हुनु अगावै कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको हो । धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ । यस्तै रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो ।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो । झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा रौतहटमा पनि गोली चलेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको हो ।

फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो । अवस्थालाई साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेका रौतहटको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल मतदान स्थगित भएको छ । त्यस्तै बौधिमाई नगरपालिकामा पनि एक स्थानमा विवाद भएको कारण मतदान स्थगित भएको छ । फतुवा विजयपुर–७ मा विवाद हुँदा केहीसमयदेखि मतदान स्थगित भएको थियो ।

उता, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–१ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको थियो ।

सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

दुई पक्षले ढुंगाहानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

त्यसैगरी सप्तरीको रूपनी गाउँपालिकामा नेपाली कांग्रेस र जसपाका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित वडा कार्यालय मतदान केन्द्रमा दुबै पार्टीका कार्यकर्ताबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

जसपा कार्यकर्ताले अर्काको नाममा मत खसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाएपछि दुबै पक्षबीच झडप भएको थियो ।