सर्लाही, ३० बैशाख । सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरिएको छ ।

धनकौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको हो ।

धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो ।

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएको पार्टीहरूको दाबी छ ।

बिहान मतदान सुरू भएदेखिनै झडप सुरु भएपछि मतदान ६ घण्टा स्थगित गरेको निर्वाचन अधिकृत बरालले जानकारी दिए । झडप सुरू भएपछि ठुलो संख्यामा सुरक्षाकर्मी खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । ठुलो संख्यामा उपस्थित भएका पार्टीका नेताकार्यकर्ता आपसमा ढुंगामुढामा उत्रिएपछि केही बेर मतदानस्थल रणभूमिमा परिणत भएको थियो । निर्वाचन अधिकृत बरालका अनुसार पालिकाको अन्य मतदान केन्द्रमा समेत पटक पटक झडप भएको छ ।

झडपमा उत्रिएका नेता कार्यकर्ताहरूले मतदानस्थलमा ढुंगामुढा, सिसा लगायतका सामान प्रहार गरेका थिए भने केन्द्र निर्माणमा प्रयोग गरेको बाँस र काठको भाटा लगायत सामग्रीमा आगजनी गरेको प्रहरीको भनाइ छ ।

आफन्तको मत खसाल्ने, अशक्तको मत हाल्ने लगायत विषयमा सुरु भएको विवाद झडपको स्थितिमा पुगेको स्थानीयको भनाइ छ ।

झडप उग्र बन्दै गएपछि उनीहरू सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए । यसैबीचै कौडेना गाउँपालिका–६ स्थित जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा समेत झडपपछि मतदान केहीबेर स्थगित भएको थियो ।

पछि थप सुरक्षाको लागि पुगेको नेपाली सेनाको टोलीले स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गराएको हो । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता झडपमा उत्रिएपछि मतदान केहीबेर रोकिएको निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए ।