जनकपुरधाम, ३० बैशाख । मतदानको क्रममा मधेस प्रदेशको चार जिल्लामा गोली चलेको छ ।

मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा गोली चलेको हो ।

धनुषाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

विवाद भएर केही समय रोकिएको मतदान पुनः सुरु भएको हो ।

सुरक्षा निकायले धनुषामा ३२३ वटा मतदानस्थल रहेकोमा १८३ वटा मतदान स्थललाई अतिसंवेदनशीलको रुपमा वर्गीकरण गरेको छ ।जिल्लाको अन्य मतदान स्थलमा सामान्य रुपमा मतदान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो ।

विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

अहिले विवाद समाधान भएर मतदान भइरहेको उनले बताए । यस्तै, जिल्लाको बाँकी मतदानस्थलमा अहिलेसम्म शान्तिपूर्ण रूपले मतदान भइरहेको प्रहरीले जनाएको छ ।

उता, सर्लाहीको धनकौलमा पनि गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सुरु हुनु अगावै कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको हो । धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

राजनीतिक दलका कार्यकर्ताबीच ढुंगा हानाहानसमेत भएको छ । विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच छलफल चलिरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ ।

यस्तै रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो ।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो । झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा रौतहटमा पनि गोली चलेको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको हो ।

फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।

अवस्थालाई साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेका रौतहटको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल मतदान स्थगित भएको छ । त्यस्तै बौधिमाई नगरपालिकामा पनि एक स्थानमा विवाद भएको कारण मतदान स्थगित भएको छ । फतुवा विजयपुर ७ मा विवाद हुँदा केहीसमयदेखि मतदान स्थगित भएको छ ।

रौतहटको २ गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तहमा आज बिहान ७ बजे देखि मतदान भइरहेको छ । चुनावलाई सुरक्षित रूपमा गराउन म्यादी,नेपाल प्रहरी,सशस्त्र प्रहरी ,नेपाली सेनाका साथै विशेष मोबाइल टोली परिचालन गरिएको प्रजिअ कृष्ण बहादुर शाहीले बताए । रौतहटमा ८३ मतदान स्थल अति संवेदनशील रहेको सुरक्षानिकायले जनाएको छ ।