एजेन्सी, २९ बैशाख । इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडिवरुद्ध चेल्सी ३–० ले विजयी भएको छ । चेल्सीले घरेलु टोली लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

गएराति एलान्ड रोडमा भएको खेलमा पाहुना टोली चेल्सीलाई जित दिलाउन मेसन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले गोल गरे । खेलको चौथो मिनेटमा माउन्टको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।

२४ औं मिनेटमा ड्यानियल जेम्सले सिधै रातो कार्ड बैहोर्दै मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा समेटियो । ५५ औं मिनेटमा पुलिसिसले पाहुना टोलीको अग्रता दोब्बर पारे ।

८३ औं मिनेटमा लुकाकुले गोल गरेपछि चेल्सीले ३–० को सहज जित निकाल्यो । जितसँगै तेस्रो स्थानको चेल्सीले ३६ खेलमा ७० अंक जोड्दा पराजित लिड्स समान खेलबाट ३४ अंकका साथ १८ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लेस्टर सिटीले नर्विच सिटीलाई ३–० ले पराजित गर्दा वाटफोर्ड र एभर्टनले गोलरहित बराबरी खेले ।