जनकपुरधाम, २९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् ।

जनकपुरधाममा केही गुन्डाहरुले आफुसँग अभद्र व्यवहार गर्ने प्रयास गर्दा प्रहरीले सुरक्षा दिएर आफुलाई त्यहाँबाट निकालि एयरपोर्टसम्म पुर्याएको स्पष्ट पारेका छन् ।

अध्यक्ष अन्सारीले आफुमाथि पैसा बाँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको आरोप बिलकुलै निराधार र कपोलकल्पित रहेको दाबी गरेका छन् ।

बिहिवार बिहान जनकपुरधामस्थित होटेल सिताशरणमा अध्यक्ष अन्सारीले मतदातालाई प्रभावमा पार्न पैसा बाँडिरहेको भन्दै केही व्यक्तिहरुले होेटेल घेराउ गरेका थिए ।

प्रहरीले अन्सारीलाई होटेलबाट विमानस्थलसम्म पुर्याएका थिए । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले आफुहरुले उनलाई नियन्त्रणमा नलिएको र अन्सारी संवैधानिक निकायका व्यक्ति रहेकाले उनको खानतलासी गर्ने अधिकार समेत नभएको बताए ।